उद्यमशीलताबाट रोजगारी सिर्जना अहिलेको आवश्यकता : देउवा

उद्यमशीलताबाट रोजगारी सिर्जना अहिलेको आवश्यकता : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’मा उनले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने उल्लेख गरे ।

‘पछिल्लो समय ‘स्टार्ट अप’ व्यवसायतर्फ आकर्षण बढ्दो छ, युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन्, यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ,’ उनले भने ।

व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुने देउवाले बताए । ‘थोरै लगानीमै ‘स्टार्ट अप’ व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ,’ उनले भने ।