सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । पार्टीको सिरहा जिल्लाको ११औँ अधिवेशनको उद्घाटन सत्रलाई आज मंगलबार सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएको बताए ।
देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्छुकहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न उनले आग्रह गरे । ‘हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग तथा शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेको जिकिर उनले गरे । ‘मधेसका समस्याहरु मलाई बढी थाहा छ । तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने काममा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट पारे । चैत १५ को अराजक गतिविधिबाट राजतन्त्र पक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने उनले बताए ।
उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस् । राजतन्त्र कुनै हालतमा फर्किंदैन । एमाले र कांग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।’ चुनावसम्म यो सरकार टसमस नहुने दाबी उनले गरे । ‘अबको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरु अब थाके । यो मजबुद सरकार हो,’ ओलीले भने ।
अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्न आवश्यक नभएको बताए । कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाई नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यहरुसहित अन्य पार्टीका समेत गरी करिब पाँच सय जनालाई उनले पार्टी प्रवेश गराएको एमालेले जनाएको छ ।
उद्घाटन सत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको शहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गरेका थिए । यसैगरी उनले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे ।