ङागस्तो दोर्जीद्वारा निर्मित ‘माया के हो’ गीतको श्रव्यदृश्य सार्वजनिक

ङागस्तो दोर्जीद्वारा निर्मित ‘माया के हो’ गीतको श्रव्यदृश्य सार्वजनिक

काठमाडौं । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिनुभएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्यदृश्य सार्वजनिक भएको छ । सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा संगीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताए ।

प्रेमराज अधिकारीले लेख्नुभएको गीतमा आधारित भई मकवानपुरको कुलेखानी तथा आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्य छायांकन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिए । दर्शकलाई नयाँ अनुभूति दिन अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्यदृश्यमा प्रस्तुत गरिएको छ ।

अभिनेता श्रेष्ठले गीत मन परेर आफू श्रव्यदृश्यमा काम गर्न इच्छुक भएको बताए । यसैगरी, नेपाली चलचित्र ‘दुई नम्बरी’ मा काम गर्नुभएकी भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसी प्राप्त हुने अनुभव सुनाए । उनले चलचित्रपछि पहिलोपटक श्रव्यदृश्यमा काम गरेका हुन् ।

ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको श्रव्यदृश्यलाई हरि हुमागाईंले छायांकन, सुवास तिमल्सेनाले शृंगार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गरेका छन् ।