नेपालको केवलकार दुई ठाउँमा मात्र चढेको छु, मनकामना र कालिञ्चोक । मनकामनाको अन्तर्राष्ट्रिय स्तरको देखिन्छ भने कालिञ्चोक कवाडी सामान जोडजाड गरेर बनाएको जस्तो ध्वनि प्रदूषणयुक्त । चन्द्रागिरिको चाहिँ चढेको छैन । अब त चढिँदैन पनि होला ।
कारण धेरैपटक यात्रु घण्टौंसम्म बीचैमा अड्किएका खबरहरु सार्वजनिक भइसके। उनै साहुजीले मुकुम्लुङ/पाथीभरामा केवलकारको पसल थाप्न खोजिरहेका रहेछन् । जुन स्थानीय जनभावनाविपरीत त छँदैछ, स्थानीय र राष्ट्रिय आवश्यकताभित्र पनि पर्दैन । पुँजीगत आकार सानो होस् कि ठूलो चल्तीफिर्तीको व्यवसायमात्र गर्ने मान्छे साहुजीमात्रै हुन् भन्ने मेरो बुझाइ छ। जबकि सुरुवातमा उनी उद्यमी व्यवसायी नै थिए ।
भ्युटावरहरुको ‘लगानी’लाई गिजोल्न पनि घिन लागिसक्यो अब त ! यो स्ट्याटस लेख्दै गरेको दिन प्रधानमन्त्रीद्वारा सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा ताली बजाउन जानुपर्ने निम्ता थियो । भवनको औचित्य अध्ययन पनि गर्नुपर्ने भएकाले त्यतिबेलै स्ट्याटस पोस्ट गरिएन ।
नगरवासीलाई गुणस्तरीय सेवा दिनका लागि गुणस्तरीय भवनको जरुरी छ भन्नेमा कुनै शंका छैन । तर, स्थानीय सरकारको आर्थिक क्षमता र आवश्यकताअनुसारको तारतम्य मिलाउन सकेन भने ती पनि ‘भाइ भ्युटावर’को रुप लिन बेर छैन । सो कुरा ललितपुर महानगरपालिकाका मेयरज्यूले सोही कार्यक्रममा ‘केही टिप्स’ भनेर दिनुभएको सुझावहरुले पनि थप प्रस्ट भएर फर्किइयो ।
हालै अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमन सँगसँगै विश्वको अर्थतन्त्र हल्लिने सम्भावना देखियो । दान र रेमिट्यान्सले धानिरहेको हाम्रो मुलुकका लागि त सात रेक्टर स्केलकै भूकम्प आउने हो कि भन्ने आशंका बढेको छ । एमसीसी जस्ता परियोजना त प्रत्यक्ष असर पर्ने नै भए ।
यस्तो अवस्थामा सरकारले मात्र होइन, सबै तह र तप्काका उद्यमी व्यवसायीले पनि राष्ट्रिय आवश्यकताअनुसारका क्षेत्रहरुमा लगानी गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले मार्गप्रशस्त गर्नुपर्छ । अतः धार्मिक केन्द्रहरुमा पसल थाप्ने लगानी, भ्युटावर र अनावश्यक भवनहरुको लगानी बन्द गरेर एमसीसी पीडित परियोजना सिध्याउनु जरुरी छ सरकार ।
(फेसबुकबाट)
प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार १७:३६