काठमाडौँ । हिमवत्खण्ड कला साहित्य संस्कृति सम्मेलन चैतमा आयोजना हुने भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ देखि ३ सम्म काठमाडौँमा सम्मेलन हुने भएको हो ।
प्रतिष्ठानका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाले सम्मलेनले हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भूखण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्ने बताए ।
‘हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो,’ उनले भने ।
सम्मेलनमा मुलुकका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बंगाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल आदि), चीन, बंगलादेश, म्यानमार, भुटान र थाइल्यान्डबाट नेपाली लोक संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ ।
प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार १७:४३